Heritage & Culture August 7, 2026 139 views

पञ्चपुरीका अभौतिक सम्पदा : विस्थापनको जोखिम र संरक्षणको दायित्व

सुर्खेत जिल्लाको पश्चिमी क्षेत्रमा अवस्थित पञ्चपुरी नगरपालिकामा २०७८ सालको राष्ट्रिय जनगणनाअनुसार ३५,८३९ जनसंख्या बसोबास गर्छन् र करिब ३२९.९ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो नगरपालिका सुर्खेत जिल्लाका नगरपालिकामध्ये क्षेत्रफलका हिसाबले सबैभन्दा ठूलो नगरपालिका हो। वनजंगल, जलस्रोत, कृषि तथा पशुपालनयोग्य भूगोल र विविध समुदायको बसोबासले पञ्चपुरीलाई प्राकृतिक सम्पदाको मात्र होइन, लोककथा, भाषा, संस्कार, पर्व, कृषि–ज्ञान, निर्माण प्रविधि, हस्तकला, श्रम–परम्परा र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएका असंख्य जीवित अभौतिक सांस्कृतिक सम्पदाको भण्डारसमेत बनाएको छ।

Omprakash Ghimire
Panchapuri Museum
पञ्चपुरीका अभौतिक सम्पदा : विस्थापनको जोखिम र संरक्षणको दायित्व

ओमप्रकाश घिमिरे

आजको विश्वमा कुनै पनि देश वा समाजको वास्तविक समृद्धि केवल सडक, भवन, बजार र भौतिक पूर्वाधारले मात्र मापन हुँदैन। कुनै समाजले आफ्ना पुर्खाबाट प्राप्त ज्ञान, सीप, भाषा, कथा, संस्कार, कला, प्रविधि, जीवनपद्धति र सामुदायिक स्मृतिलाई कति जोगाउन सकेको छ भन्ने कुराले पनि त्यस समाजको पहिचान, आत्मसम्मान र भविष्य निर्धारण गर्छ। त्यसैले सांस्कृतिक सम्पदा विगतको अवशेष मात्र होइन, वर्तमानको सामाजिक पूँजी र भविष्यको सम्भावित आर्थिक तथा बौद्धिक सम्पत्ति पनि हो।सांस्कृतिक सम्पदा सामान्यतः भौतिक र अभौतिक गरी दुई प्रकारको हुन्छ। मन्दिर, विहार, विद्यालय भवन, चौतारी, पुराना घर, कुलो, पुल, मूर्ति, औजार र अन्य संरचना भौतिक सम्पदाका उदाहरण हुन्। यिनीसँग जोडिएका निर्माण प्रविधि, प्रयोग गर्ने तरिका, मौखिक इतिहास, सामाजिक विश्वास, सीप, श्रम–संस्कृति र पुस्तान्तरणको प्रक्रिया भने अभौतिक सम्पदाका पक्ष हुन्।

युनेस्कोको सन् २००३ को महासन्धिले अभौतिक सांस्कृतिक सम्पदालाई समुदाय, समूह वा व्यक्तिले आफ्नो सांस्कृतिक सम्पदाका रूपमा स्वीकार गरेका अभ्यास, अभिव्यक्ति, ज्ञान, सीप तथा तिनसँग सम्बन्धित उपकरण, वस्तु, कलाकृति र सांस्कृतिक स्थानका रूपमा परिभाषित गरेको छ। महासन्धिले अभौतिक सम्पदाका पाँच व्यापक क्षेत्र पहिचान गरेको छ—मौखिक परम्परा तथा अभिव्यक्ति, प्रदर्शन कला, सामाजिक अभ्यास तथा संस्कार, प्रकृति र ब्रह्माण्डसम्बन्धी ज्ञान तथा अभ्यास, र परम्परागत हस्तकला।

यस अर्थमा हलो, जुवा, डोको वा काठको कोल आफैँ भौतिक वस्तु हुन्; तर ती बनाउने सीप, प्रयोग गर्ने ज्ञान, त्यससँग जोडिएको सामाजिक सम्बन्ध, श्रमविभाजन, विश्वास, गीत, कथा र पुस्तान्तरणको प्रक्रिया अभौतिक सम्पदा हुन्। त्यसैले कुनै वस्तु हराउनु भनेको त्यससँग जोडिएको ज्ञान–परम्परा र पहिचानसमेत हराउनु हो।

 

 

पञ्चपुरीको सांस्कृतिक सम्पदा

सुर्खेत जिल्लाको पश्चिमी क्षेत्रमा अवस्थित पञ्चपुरी नगरपालिकामा २०७८ सालको राष्ट्रिय जनगणनाअनुसार ३५,८३९ जनसंख्या बसोबास गर्छन् र करिब ३२९.९ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो नगरपालिका सुर्खेत जिल्लाका नगरपालिकामध्ये क्षेत्रफलका हिसाबले सबैभन्दा ठूलो नगरपालिका हो। वनजंगल, जलस्रोत, कृषि तथा पशुपालनयोग्य भूगोल र विविध समुदायको बसोबासले पञ्चपुरीलाई प्राकृतिक सम्पदाको मात्र होइन, लोककथा, भाषा, संस्कार, पर्व, कृषि–ज्ञान, निर्माण प्रविधि, हस्तकला, श्रम–परम्परा र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएका असंख्य जीवित अभौतिक सांस्कृतिक सम्पदाको भण्डारसमेत बनाएको छ।

पछिल्लो समयमा आधुनिक शिक्षा र पूर्वाधार विकासमा पञ्चपुरी अघि बढिरहेको भए पनि स्थानीय रैथाने ज्ञान तथा सीपको अभिलेखीकरण, अध्ययन र प्रवर्द्धनमा पर्याप्त ध्यान ध्यान पुगेको देखिदैन ।

पञ्चपुरीका विभिन्न बस्तीमा बसोबास गर्ने समुदायले समय, स्थान, वातावरण र आवश्यकताअनुसार अनेकौँ स्थानीय प्रविधि तथा उत्पादन विकसित गरेका छन्। काठबाट बनाइने हलो, जुवा, कोल, ठेकी, गाबु र हर्पे; फलामबाट बनाइने आँसी, बन्चरो र कोदालो; चोयाबाट बनाइने डोको, थुन्से, सुपो, सोली, मुखारो, डालो र पाथी; दाम्ला बाट्ने, पिङ बनाउने, घर छाउने तथा कृषि औजार तयार गर्ने सीप यस क्षेत्रका महत्वपूर्ण सांस्कृतिक सम्पदा हुन्।

कुनै समय जीविकोपार्जनसँग सम्बन्धित अधिकांश सामग्री स्थानीय सीप र श्रममा आधारित थिए। ती सामग्री निर्माण गर्ने व्यक्तिहरू गाउँका उपयोगी कारीगर मात्र थिएनन्; उनीहरू ज्ञानका संवाहक, प्रविधिका सिर्जनाकार र समुदायका सांस्कृतिक शिक्षक पनि थिए। उनीहरूको ज्ञान औपचारिक विद्यालयमा होइन, काम गर्दै, हेर्दै र अभ्यास गर्दै एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुन्थ्यो।

 

तर बजार विस्तार, औद्योगिक उत्पादन, प्लास्टिकका सामग्री, आधुनिक कृषि उपकरण र प्रविधिको आगमनसँगै स्थानीय उत्पादन र सीप विस्थापित हुँदै गएका छन्। ट्र्याक्टर आएपछि हलो, जुवा, मुखारो र दाताजस्ता औजारको प्रयोग घटेको छ। तेल, उखु वा चिउरी पेल्ने काठका कोल, खुदो बनाउने सीप, चोयाका सामग्री, ढिकी, कटेरो, नारे र परम्परागत गोठ निर्माणका प्रविधि पनि अहिले हराउदै गएका छन् ।  आधुनिक साधन प्रयोग गर्नु गलत होइन; तर नयाँ प्रविधि प्रयोग गर्दा पुरानो ज्ञान, स्थानीय पहिचान र ऐतिहासिक स्मृतिलाई पूर्ण रूपमा नष्ट हुन दिनु पनि बुद्धिमानी होइन। संरक्षणको अर्थ सबैलाई पुरानै जीवनशैलीमा फर्काउनु होइन; उपयोगी ज्ञानको अभिलेख राख्नु, सीपलाई सम्मान गर्नु, नयाँ पुस्तामा हस्तान्तरण गर्नु र आवश्यक ठाउँमा त्यसलाई नयाँ बजार तथा प्रविधिसँग जोड्नु हो।

 

लुकेको अग्रजको इतिहास

पञ्चपुरीका परम्परागत सिँचाइ प्रणाली अभौतिक सम्पदाका उत्कृष्ट उदाहरण हुन्। खेतुखोलाबाट पानी ल्याएर निर्माण गरिएको कालाबन क्षेत्रको कुलो, सान्ने खोलामा  बनाइएको लामो काठको डुँड, करिब पाँच किलोमिटर लामो कुलो निर्माणको प्रविधि, तथा खमारी खोलाबाट बाबियाचौर हुँदै माझीगाउँसम्म ल्याइएको कुलो स्थानीय इन्जिनियरिङ ज्ञानका महत्वपूर्ण प्रमाण हुन्।

आज यस्ता संरचनालाई सिमेन्ट वा आधुनिक प्रविधिबाट सुधार गर्नु आवश्यक हुन सक्छ। तर सुधार गर्दा त्यसको पुरानो डिजाइन, निर्माण प्रक्रिया, श्रमदान, नेतृत्व, पानी बाँडफाँटको सामाजिक व्यवस्था र स्थानीय अनुभवको अभिलेख नराखिएमा संरचना त बच्छ, इतिहास हराउँछ। त्यसैले विकास निर्माणसँगै ‘सम्पदा प्रभाव मूल्याङ्कन’ गर्ने अभ्यास आवश्यक छ।

 

विद्यापुरस्थित जनता उच्च माध्यमिक विद्यालयको स्थापना, स्थानान्तरण, भवन निर्माण, स्रोत परिचालन, इँटा उत्पादन, काठको फर्निचर निर्माण र सामुदायिक श्रमदानसँग सम्बन्धित कथा पनि स्थानीय सामाजिक इतिहास हो। विद्यालयको भवन मात्र भौतिक संरचना हो; तर त्यसलाई स्थापना गर्ने सामुदायिक सोच, सहमति निर्माण, आर्थिक योगदान, निर्माण सीप र शिक्षाप्रतिको सामूहिक प्रतिबद्धता अभौतिक सम्पदा हुन्।

 

त्यसैगरी आजका मोटरबाटोले पुराना गोरेटो, देउराली, चौतारी र श्रमदानको संस्कृतिलाई विस्थापित गरिरहेका छन्। पहिले बाटो बिग्रिँदा समुदाय आफैँ मर्मतमा जुट्थ्यो। बाटो केवल आवागमनको साधन थिएन; त्यो सामुदायिक सहकार्य, परोपकार, आस्था र स्थानीय इन्जिनियरिङको प्रतीक थियो।

 

नदीमा पुल बन्नुअघि काठका डुङ्गा बनाउने र मानिसलाई नदी तार्ने सीपमा राजी समुदायको विशेष भूमिका थियो। पुल बनेपछि डुङ्गाको आवश्यकता घट्यो, तर त्यससँगै डुङ्गा बनाउने ज्ञान, नदी पढ्ने क्षमता, पानीको बहाव बुझ्ने अनुभव र त्यससँग सम्बन्धित सामाजिक इतिहास पनि ओझेलमा परेको छ। यसरी एउटा भौतिक संरचनाको अन्त्यसँगै अनेकौँ अभौतिक सम्पदा संकटमा परिरहेको देखिन्छ ।

 

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यवस्था

नेपाल सन् २००३ को युनेस्को अभौतिक सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी महासन्धिको पक्ष राष्ट्र हो। महासन्धिले सम्पदाको पहिचान, अभिलेखीकरण, अनुसन्धान, संरक्षण, प्रवर्द्धन, पुस्तान्तरण, औपचारिक तथा अनौपचारिक शिक्षामार्फत हस्तान्तरण र आवश्यक परे पुनर्जीवनलाई ‘संरक्षण’ मानेको छ। यसले समुदायलाई सम्पदाको निर्माता र व्यवस्थापकका रूपमा केन्द्रमा राखेको छ।

 

महासन्धिअनुसार राज्यले आफ्नो भूभागमा रहेका अभौतिक सम्पदाको पहिचान र परिभाषा समुदाय, समूह तथा सम्बन्धित संस्थाको सहभागितामा गर्नुपर्छ। सम्पदासम्बन्धी योजना बनाउँदा समुदायको सक्रिय सहभागिता सुनिश्चित गर्नुपर्ने व्यवस्था पनि महासन्धिले गरेको छ। त्यसैले अभौतिक सम्पदाको संरक्षण माथिबाट घोषणा गर्ने कार्य होइन; समुदायसँग मिलेर गर्ने सहभागी प्रक्रिया हो।

 

नेपालको संविधानको अनुसूची–८ अन्तर्गत स्थानीय तहलाई भाषा, संस्कृति र ललितकलाको संरक्षण तथा विकाससम्बन्धी अधिकार दिइएको छ। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले पनि स्थानीयस्तरमा भाषा, संस्कृति, ललितकला, परम्परा र सम्पदासम्बन्धी नीति, कानून, मापदण्ड, योजना तथा कार्यक्रम निर्माण र कार्यान्वयन गर्ने आधार प्रदान गरेको छ।

संघीय सरकारले अभौतिक सांस्कृतिक सम्पदाको राष्ट्रिय सूचीकरणका लागि फाराम, प्रक्रिया र संस्थागत पहल अघि बढाइरहेको छ। सम्बन्धित व्यक्ति, समुदाय र संस्थाले स्थानीय तहमा सूचीकरण भएको प्रमाणसहित राष्ट्रिय सूचीकरण प्रक्रियामा सहभागी हुन सक्ने व्यवस्था पनि अघि सारिएको छ। यसले पञ्चपुरीलाई आफ्ना स्थानीय सम्पदाको व्यवस्थित सूची तयार गरी प्रदेश तथा संघीय तहको अभिलेखमा समावेश गराउने अवसर दिएको छ।

 

सिक्न लायक स्थानीय अभ्यास

 केही स्थानीय तहले भाषा, संस्कृति र ललितकलाको संरक्षणका लागि छुट्टै ऐन तथा कार्यविधि बनाएका छन्। उदाहरणका लागि बुढानीलकण्ठ नगरपालिकाले संविधानको अनुसूची–८ मा आधारित भाषा, संस्कृति र ललितकला संरक्षण तथा विकाससम्बन्धी कार्यविधि बनाएको छ। ढकारी गाउँपालिकाले स्थानीय भाषा, संस्कृति र ललितकला संरक्षण तथा विकाससम्बन्धी ऐन, २०८१ जारी गरेको उदाहरण भेटिन्छ। यी स्थानीय कानून मार्फत् स्थानीय अभौतिक क सम्पदा तथा संस्कृतिको संरक्षणलाई बढावा दिएका छन् ।

 

घलेगाउँ र घान्द्रुकले पनि स्थानीय घरबास, परम्परागत खाना, भेषभूषा, गीत–संगीत, नृत्य, वास्तुशैली र आतिथ्य संस्कृतिलाई पर्यटनसँग जोडेर आयआर्जनको माध्यम बनाएका छन्। घलेगाउँमा होमस्टे र स्थानीय सांस्कृतिक अभ्यास ग्रामीण पर्यटनसँग जोडिएको लामो अभ्यासका रूपमा देखिन्छ। घान्द्रुकमा पनि गुरुङ जीवनशैली, घरबास, स्थानीय खाना र सांस्कृतिक पहिचान पर्यटकीय आकर्षण बनेका छन्। यी उदाहरणको सन्देश स्पष्ट छ; संस्कृति संरक्षण र आर्थिक विकास परस्पर विरोधी होइनन्; उचित योजना भए संस्कृति नै स्थानीय अर्थतन्त्रको आधार बन्न सक्छ।

 

पञ्चपुरी नगरपालिकाको दायित्व  

पञ्चपुरीका स्थानीय सम्पदा हराउँदै गएको अवस्था, नेपालका विभिन्न स्थानीय सरकारहरुले स्थानीय अभौतिक सम्पदा तथा संस्कृतिको प्रबद्र्धनमा पाएको सफलता र त्यसबाट लिएको लाभका आधारमा अब पञ्चपुरी नगारपालिकाले पनि हाम्रो इतिहास बोकेका मौलिक रैथाने सम्पदा तथा संस्कृतिको संरक्षण र प्रबद्र्धनका लागि प्रभावकारी कदम चाल्न आवश्यक देखिन्छ । यो कार्य नगरपालिकाको संवैधानिक तथा कानूनी दायित्व हो र समुायप्रतिको सम्मान पनि हो ।  अभौतिक सम्पदाको संरक्षणमा पहिलो र प्रमुख जिम्मेवारी पञ्चपुरी नगरपालिका भएकाले  नगरपालिकाले निम्न कार्यलाई प्राथमिकताका साथ अघि बढाउनुपर्छ।

 

 स्थानीय अभौतिक सम्पदा सूची तयार गर्ने

नगरपालिकाले वडा–वडामा सम्पदा पहिचान टोली गठन गरी स्थानीय अभौतिक सम्पदाको सूची तयार गर्नुपर्छ। सूचीमा निम्न विषय समेटिन सक्छन्

  • स्थानीय भाषा, बोली, उखान, लोककथा, किंवदन्ती र मौखिक इतिहास।

  • लोकगीत, नृत्य, बाजा, पर्व, जात्रा, संस्कार र सामाजिक अभ्यास।

  • हलो, जुवा, कोल, ढिकी, चोयाका सामग्री, काठका भाँडा र फलामे औजार बनाउने सीप।

  • परम्परागत घर, गोठ, नारे, कटेरो, कुलो, डुँड, गोरेटो, चौतारी र देउरालीसँग जोडिएको ज्ञान।

  • कृषि, पशुपालन, वन, जलस्रोत र मौसमसम्बन्धी रैथाने ज्ञान।

  • विद्यालय, बाटो, पुल, कुलो तथा सामुदायिक संस्थाको निर्माणसँग जोडिएको इतिहास।

  • संकटमा परेका तथा अझै अभ्यासमा रहेका सीपको अवस्था।

सूचीकरण समुदायको सहमतिमा हुनुपर्छ। कुनै समुदाय वा व्यक्तिको पवित्र, निजी वा गोप्य ज्ञानलाई अनुमति नलिई सार्वजनिक गर्नु हुँदैन।

 

 डिजिटल अभिलेख र स्थानीय सम्पदा केन्द्र स्थापना गर्ने

नगरपालिकाले फोटो, भिडियो, अडियो, नक्सा, अन्तर्वार्ता, पुराना कागजात र वस्तुको विवरणसहित डिजिटल अभिलेख निर्माण गर्नुपर्छ। विद्यापुर वा नगरपालिकाको उपयुक्त स्थानमा ‘पञ्चपुरी स्थानीय ज्ञान तथा सम्पदा केन्द्र’ स्थापना गर्न सकिन्छ। विद्यापुरमा पञ्चपुरी संग्रहालय बनाउने कार्य अघि बढेकाले यहि संग्रहालयलाई नगरपालिका र समुदायको साझा मौलिक केन्द्रको रुपमा विकास गर्न सकिन्छ ।

 

यस केन्द्रमा पुराना औजार, चोयाका सामग्री, काठका भाँडा, कृषि उपकरण, पुराना नक्सा, विद्यालय निर्माणका अभिलेख, कुलो प्रणालीका विवरण र स्थानीय व्यक्तिका जीवनकथा सुरक्षित राख्न सकिन्छ। केन्द्रलाई केवल वस्तु राख्ने संग्रहालय नभई सीप सिकाउने, अनुसन्धान गर्ने र समुदायले आफ्नै इतिहास सुनाउने जीवित सम्पदा केन्द्रका रूपमा विकास गर्नुपर्छ।

 

 सीप हस्तान्तरण

लोपोन्मुख सीप भएका ज्येष्ठ कारीगरलाई ‘स्थानीय सम्पदा गुरु’ का रूपमा सम्मान गरी उनीहरूबाट युवालाई प्रशिक्षण दिलाउनुपर्छ। हलो, जुवा, कोल, डोको, दाम्ला, घर छाउने, ढुङ्गा मिलाउने, काठ जोड्ने, कुलो बनाउने र परम्परागत कृषि प्रविधिका तालिम सञ्चालन गर्न सकिन्छ।

 

यस्ता कार्यक्रमलाई प्रमाणपत्र, उपकरण, छात्रवृत्ति, बीउपूँजी र बजारसँग जोड्नुपर्छ। सीप सिक्ने युवालाई केवल सम्मान होइन, रोजगारी र उद्यमको अवसर पनि चाहिन्छ।

 

 विकास योजनामा सम्पदा संरक्षण समावेश

सडक, पुल, भवन, सिँचाइ, खानेपानी र बजार निर्माण गर्दा पुराना गोरेटो, चौतारी, कुलो, देउराली, पानीका मुहान र सांस्कृतिक स्थलको अभिलेख तथा संरक्षण योजना अनिवार्य गर्नुपर्छ। सम्भव भएसम्म पुरानो संरचना जोगाउँदै नयाँ पूर्वाधार निर्माण गर्नुपर्छ।

 

नगरपालिकाले ठूला योजनामा ‘सांस्कृतिक सम्पदा प्रभाव मूल्याङ्कन’ लागू गर्न सक्छ। विकासका कारण कुनै सम्पदा हटाउनुपर्ने भए पहिले त्यसको मौखिक इतिहास, निर्माण प्रविधि र सामुदायिक स्मृति अभिलेखीकरण गर्नुपर्छ।

 

 शिक्षा र पर्यटन

स्थानीय पाठ्यक्रममा ‘हाम्रो पञ्चपुरी’ विषयअन्तर्गत स्थानीय इतिहास, कुलो, गोरेटो, कृषि प्रविधि, लोककथा, सीप र सम्पदाका पाठ समावेश गर्नुपर्छ। विद्यालयका विद्यार्थीलाई ज्येष्ठ नागरिकसँग अन्तर्वार्ता गर्न, पुराना औजारको विवरण तयार गर्न र स्थानीय सम्पदा नक्सा बनाउन लगाउन सकिन्छ।

 

पञ्चपुरीमा स्थानीय खाना, कृषि अनुभव, वन तथा जलस्रोत, परम्परागत सीप र सांस्कृतिक पदमार्गमा आधारित जिम्मेवार पर्यटन विकास गर्न सकिन्छ। तर पर्यटनका नाममा संस्कृतिको कृत्रिम प्रदर्शन, समुदायको शोषण वा मौलिकताको व्यापारिक विकृति हुन नदिन समुदायको स्वामित्व र आचारसंहिता आवश्यक हुन्छ।

 

स्थानीय समुदायले गर्नुपर्ने काम

सम्पदा संरक्षण सरकारको मात्र काम होइन। समुदाय नै अभौतिक सम्पदाको वास्तविक निर्माता र वाहक भएकाले यसको निरन्तरता पनि समुदायबाटै सम्भव हुन्छ।

  • ज्येष्ठ नागरिक, शिल्पी, महिला, दलित, आदिवासी तथा सीमान्तकृत समुदायसँग रहेका ज्ञान र सीपको सम्मानपूर्वक अभिलेख तयार गर्ने।

  • घरपरिवारमा बालबालिका र युवालाई स्थानीय सीप सिकाउने वातावरण बनाउने।

  • पर्व, गीत, नृत्य, कथा, बोली र परम्परागत अभ्यासलाई केवल समारोहमा सीमित नराखी नियमित जीवनसँग जोड्ने।

  • चोयाका सामग्री, स्थानीय खाद्यवस्तु, काठका उपयोगी सामग्री र परम्परागत कलालाई सहकारी तथा उद्यममार्फत बजारमा लैजाने।

  • कुलो, गोरेटो, चौतारी, पानीका मुहान र सामुदायिक संरचनाको संरक्षणमा श्रमदान र स्थानीय लगानी पुनर्जीवित गर्ने।

  • सम्पदाको व्यावसायिक प्रयोग गर्दा त्यसका सर्जक समुदायको अनुमति, सम्मान र लाभ–वितरण सुनिश्चित गर्ने।

  • कुनै समुदायको ज्ञान वा सांस्कृतिक अभ्यासलाई उपहास, गलत प्रस्तुति वा अनुमति बिना व्यावसायिक प्रयोग हुन नदिने।

समुदायले पुरानो कुरा सबै जस्ताको तस्तै कायम राख्नुपर्छ भन्ने होइन। उपयोगी, न्यायपूर्ण, समावेशी र जीवनोपयोगी पक्षलाई निरन्तरता दिँदै विभेदकारी वा हानिकारक अभ्यासलाई सुधार गर्नुपर्छ। संरक्षण भनेको अतीतको अन्धो अनुकरण होइन; विवेकपूर्ण निरन्तरता हो।

 

शिक्षक र बौद्धिक समुदायको भूमिका

पञ्चपुरीका शिक्षक, विद्यार्थी, पत्रकार, लेखक, अनुसन्धानकर्ता र बौद्धिक समुदायले स्थानीय सम्पदालाई अनुसन्धानको विषय बनाउनुपर्छ। प्रत्येक विद्यालय र क्याम्पसले आफ्नो क्षेत्रको मौखिक इतिहास, स्थानीय प्रविधि, कृषि ज्ञान, जल व्यवस्थापन, लोकसंस्कृति र सामाजिक परिवर्तनबारे लघु अनुसन्धान गर्न सक्छ।

शिक्षकहरूले विद्यार्थीलाई निम्न कार्यमा संलग्न गराउन सक्छन्

  • स्थानीय ज्येष्ठ नागरिकको जीवनकथा र मौखिक इतिहास लेखन।

  • पुराना औजार तथा संरचनाको फोटो, मापन र विवरण तयार गर्ने।

  • स्थानीय शब्द, उखान, लोकगीत र कथाको सङ्कलन।

  • कुलो, गोरेटो, चौतारी र ऐतिहासिक विद्यालयको सम्पदा नक्सा बनाउने।

  • हराउँदै गएका सीपको भिडियो अभिलेख तयार गर्ने।

  • स्थानीय पाठ्यक्रमका लागि सामग्री विकास गर्ने।

  • पञ्चपुरीका सम्पदामाथि शोधपत्र, वृत्तचित्र, प्रदर्शनी र सार्वजनिक संवाद आयोजना गर्ने।

बौद्धिक समुदायले स्थानीय सरकारलाई नीतिगत सुझाव दिनुपर्छ, बजेटको निगरानी गर्नुपर्छ र सम्पदा संरक्षणलाई राजनीतिक प्राथमिकताको विषय बनाउनुपर्छ। केवल आलोचना गर्ने होइन, प्रमाणमा आधारित विकल्प, अभिलेख, परियोजना प्रस्ताव र कार्यान्वयनयोग्य योजना पनि प्रस्तुत गर्नुपर्छ।

 

निष्कर्ष : साझा जिम्मेवारी, स्पष्ट नेतृत्व

पञ्चपुरीका अभौतिक सम्पदा संरक्षण गर्ने जिम्मेवारी एक पक्षको मात्र होइन। समुदाय यसको मूल सर्जक र संवाहक हो । नगरपालिका नीतिगत नेतृत्व, बजेट र संस्थागत संरचना निर्माण गर्ने निकाय हो। विद्यालय तथा शिक्षक पुस्तान्तरणका माध्यम हुन्; ।बौद्धिक समुदाय अनुसन्धान, अभिलेख र सार्वजनिक बहसका अगुवा हुन्।

 

तर साझा जिम्मेवारीको अर्थ जिम्मेवारीविहीनता होइन। स्थानीय सरकार यस कार्यको संयोजक र प्रमुख उत्तरदायी निकाय बन्नुपर्छ। नगरपालिकाले स्थानीय अभौतिक सम्पदा संरक्षणसम्बन्धी नीति तथा कार्यविधि निर्माण गरी वार्षिक बजेट, सम्पदा सूची, डिजिटल अभिलेख, सम्पदा केन्द्र, गुरु–शिष्य कार्यक्रम र विद्यालय समुदाय सहकार्यलाई संस्थागत गर्नुपर्छ।

आज अभिलेख नगरे भोलि स्मृति हराउन सक्छ। आज सीप हस्तान्तरण नगरे भोलि शिल्प हराउन सक्छन्। आज स्थानीय ज्ञानलाई सम्मान नगरे भोलि पञ्चपुरीको पहिचान नै नक्कलमा सीमित हुन सक्छ। त्यसैले पञ्चपुरीका अभौतिक सम्पदाको संरक्षण प्रश्न मात्र होइन यो स्थानीय स्वाभिमान, पुस्तान्तरण, सामाजिक न्याय, रोजगारी र दिगो विकाससँग जोडिएको साझा अभियान हो।

 

पुर्खाको सीप र पञ्चपुरीको मौलिकता बोकेको जीवित ज्ञान तथा सांस्कृतिक स्मृतिलाई विकासको भेलमा हराउन नदिई संरक्षण, पुस्तान्तरण र सिर्जनात्मक उपयोगमार्फत पञ्चपुरीको समुन्नत सांस्कृतिक भविष्य निर्माण गर्नु आजको साझा दायित्व हो।  

Tags
Heritage Culture Museum
Share